काठमाण्डाै – नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
३ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले गुप्ताविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।
अख्तियारले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्म गुप्ताले आर्जन गरेकाे सम्पत्तिकाे जाँच गरेकाे थियाे ।
छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ देखिएको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा, आमा र दुई जना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ ।