पोखरा : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
पोखरामा आज आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने अठोट व्यक्त गरे।
“हामीले यो पटक असाधारण परिघटनाको सामना गर्नुपरेको छ तर हामी ध्वस्त भइसकेका छैनौँ। सबैभन्दा पहिला आफ्नो कमजोरी सुधार्ने विषयलाई उच्च प्राथमिकताका साथ लिनुपर्छ,” प्रचण्डले भने, “विगतमा जस्तै राष्ट्रिय स्वाधीनता र वर्गीय हितका निम्ति जस्तोसुकै त्याग गर्ने सङ्कल्प गरेमा हामी यहीबाट सुधारिनेछौँ र पार्टीलाई नयाँ उचाइमा लैजान सम्भव हुनेछ ।”
आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभई वैचारिक र सङ्गठनको हिसाबले क्रमभङ्ग गर्ने गरी अघि बढ्ने उनले बताए।
“पार्टीको नेतृत्व र विचार निर्माण गर्दा पनि नयाँ रणनीति र कार्यनीति सहित विचारको विकास गर्नेछौँ। हामी अब अर्को क्रान्तिको सुरुआत गरेर मात्र विश्राम लिनेछौँ,” उनले भने।
पार्टीका सहसंयोजक माधवकुमार नेपालले अहिलेकै अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताए। राष्ट्रियतामाथि सङ्कट आउने अवस्था देखिएकाले वामपन्थी दलहरूबीच सहकार्य हुने उनले उल्लेख गरे।
“पहिला आफ्नो पार्टी बलियो बनाउन लाग्नुहोस्, पार्टी ठूलो र बलियो भयो भने मात्र एकताको आशा जाग्छ। तत्कालै कम्युनिष्ट पार्टीबीच एकता हुँदैन”, नेपालले भने।
कार्यक्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे‚ देवेन्द्र पौडेल, श्रीनाथ बराल, ज्ञानु आचार्य, शिव बास्तोला, कृष्ण नेपाली, गायत्री गुरुङलगायतले बोलेका थिए।