शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै ‘आउट’ गरेको खुलासा भएको छ । काठमाण्डौमा दुईवटा कलेज पढाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्ता लगाएको हो ।

भक्तपुर बस्ने ३३ वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ । गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी ५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनेटमै ह्वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो ।

एमबीएस पहिलो सेमेस्टरको अरु विषयका परीक्षा बाँकी नै रहेकाले ती परीक्षामा समेत गैरकानुनी क्रियाकलापहरू हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ । त्यस्ता कसुर गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने सीआईबीले चेतावनी पनि दिएको छ ।

झण्डै एक हजार २३ जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कारबाहीका लागि अस्ति शनिबार नै सीआईबीमा पत्राचार गरेको थियो । 

त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सत्यतथ्य पत्ता लगाई ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।