काठमाण्डौ - मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
आज बिहान ७ बजेतिरको पहिरोले सडक अवरुद्ध हुँदा गाडी चल्न नसकेका सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । गएराति चितवन आसपासका क्षेत्रमा पनि पानी परेको थियो । सिमलतालमा लेदो झरिरहेको छ ।
अहिले पहिरो र लेदो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसैगरी बाढी, पहिरोलगायतका कारण देशका विभिन्न सडक अवरुद्ध छन् । सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेशी ,रुकुम पश्चिमको जाजरकोट डोल्पा सडक तथा मुस्ताङको बेनी जोमसोम सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
साथै इलामको मेची राजमार्ग पनि अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा भने रातको समयमा गाडी सञ्चालनमा रोक लगाउँदै आएको छ ।