काठमाण्डौ - आज काठमाण्डौ उपत्यकासहित देशका ४० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुरसहित देशका विभिन्न ४० जिल्ला र यी जिल्ला आसपासका खोला÷नदीमा आकस्मिक बाढीको सम्भावना छ ।
आज पनि काठमाण्डौ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानीसँगै नदी तथा खोलामा बहाव बढ्न सक्ने अनुमान छ । बाढी पूर्वानुमान बुलेटिनका अनुसार बाढीको जोखिम रहेका अरू जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र कञ्चनपुर रहेका छन् ।
बाढीको सम्भावना रहेका जिल्लाका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ ।
