सैनामैना उद्यम शिक्षा संगम : विद्यार्थीहरूमा उद्यमशीलताको प्रेरणा जगाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही, श्रावण ९ । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शुक्रबार आयोजित ‘सैनामैना उद्यम शिक्षा संगम’ कार्यक्रमले विद्यार्थीहरूलाई उद्यमशील बन्न प्रोत्साहन गरेको छ।

‘शिक्षा र उद्यमको संगम, युवाहरूको सुनौलो भविष्यको आधार’ भन्ने नारासहित भएको एकदिने कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्थानीय उद्यमीहरूको अनुभवबाट प्रेरणा लिएको बताएका छन्। कार्यक्रमले युवामा स्वरोजगार र आत्मनिर्भरताको भावना थप बलियो बनाएको उनीहरूको भनाइ छ।

कार्यक्रमको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश सबै अभिभावकले आफ्ना सन्तानलाई दिनुपर्ने बताए। ‘‘हामीसँग जे छ, त्यसैमा खुसी हुन सिक्नुपर्छ,’’ भन्दै शर्माले सकारात्मक सोच र प्रयासबाट नै सफलता सम्भव हुने उल्लेख गरे।

संगममा विद्यार्थी, स्थानीय उद्यमी, सामाजिक अभियन्ता र शिक्षकहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा विभिन्न प्रकारका व्यवसाय र उद्यमहरूको प्रदर्शन गरिएको थियो, जसले विद्यार्थीलाई व्यवहारिक ज्ञान लिन मद्दत गरेको थियो।

शिक्षा र उद्यमलाई जोड्ने यस्ता कार्यक्रमले युवालाई विदेशमुखी हैन, स्वदेशमै केही गर्न सकिने आत्मविश्वास दिलाउने विश्वास आयोजकको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।