सैनामैना । राष्ट्रिय युवा क्लब, सैनामैना–४, मुर्गियाको आयोजनामा सैनामैना नगरपालिका स्तरीय अन्तर विद्यालय खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ।
क्लबले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता माघ १४ गते बिहान १० बजेदेखि मुर्गिया खानेपानीको सभाहलमा सञ्चालन हुनेछ। प्रतियोगितामा सैनामैना नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने कविताहरू मौलिक, अप्रकाशित र ३०० शब्द वा ३० पङ्क्तिभन्दा बढी नहुने व्यवस्था गरिएको छ। कविता सामाजिक समस्या तथा समसामयिक विषयसँग सम्बन्धित हुनुपर्नेछ। सहभागीहरूले कविता नेपाली भाषामा गजल, मुक्तक वा छन्द कविता जस्ता शैलीमा प्रस्तुत गर्न सक्नेछन्।
प्रतियोगितामा उत्कृष्ट कविता प्रस्तुत गर्ने प्रतिभागीलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम हुनेले रु. ५,५५५, द्वितीयले रु. ३,३३३ र तृतीयले रु. २,२२२ प्राप्त गर्नेछन्।
कार्यक्रम संयोजक सुमित ढकालका अनुसार साहित्यिक गतिविधिमार्फत विद्यार्थीमा सिर्जनशीलता, सामाजिक चेतना र अभिव्यक्ति क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। राष्ट्रिय युवा क्लबका अध्यक्ष विष्णु ढकालले कार्यक्रमलाई सफल बनाउन सबै विद्यालय, अभिभावक तथा साहित्यप्रेमीलाई सहभागिताका लागि अनुरोध गरेका छन्।