पेट्रोलियम पदार्थ किन्दा ३ खर्ब रुपैयाँभन्दा धेरै बाहिरियो, साढे ५१ अर्बकाे तरकारी र फलफूल भित्रियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गएको आर्थिक वर्षमा आयात र निर्यात दुवै कमी भएको छ । भन्सार विभागले आज प्रकाशन गरेको गएको आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालको आयात र निर्यात दुवै व्यापारमा कमी आएको हो ।

गएको आर्थिक वर्षमा नेपालले १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ३३ प्रतिशतले कमी हो । गएको वर्ष नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु विदेशबाट आयात गरेको छ भने जम्मा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको वस्तु विदेशमा निर्यात गरेको छ ।

गएको वर्ष नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । गएको वर्ष पेट्रोलियम पदार्थको आयातमा तीन खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ । यस्तै झन्डै दुई खर्ब रुपैयाँको मेशिनरी वस्तु र एक खर्ब छ अर्ब रुपैयाँको विद्युतीय सामान आयात भएका छन् ।

यस्तै एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको फलाम तथा स्टिल र ८५ अर्ब ७४ करोड रुपैयाँका गाडी आयात भएका छन् । यस्तै ४८ अर्ब २७ करोड रुपैयाँको घिउतेल, ४५ अर्ब ८९ करोड रुपैयाँको खाद्यान्न, २८ अर्ब ३१ करोड रुपैयाँको तरकारीजन्य वस्तु, २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल र २५ अर्ब रुपैयाँको दूध र दुग्धजन्य पदार्थ आयात भएका छन् ।

यस्तै ४२ अर्ब १३ करोड रुपैयाँको औषधि र कच्चा पदार्थ,  ३६ अर्ब ४४ करोड रुपैयाँको रासायनिक मल, ५९ अर्ब रुपैयाँको प्लास्टिकजन्य वस्तु आयात भएका भन्सार विभागले जनाएको छ ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।