गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको अध्ययनको निष्कर्ष यस्ताे छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको एउटा नयाँ अध्ययनले देखाएको छ । गएको वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारासिटामोल राम्रो नभएको र गर्भवती महिलाले यसको प्रयोग गर्न नहुने दाबी गर्नुभएको थियो । तर नयाँ अध्ययनले ट्रम्पका दाबीलाई खण्डन गर्दै पारासिटामोलको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार नरहेको जनाएको छ ।

‘द ल्यान्सेट’ पत्रिकामा प्रकाशित अनुसन्धानले पारासिटामोलको प्रयोगसम्बन्धी ४३ वटा सबैभन्दा ठोस अध्ययनहरूको समीक्षा गरेको बीबीसीले जनाएको छ । यसमा विशेष गरी गर्भावस्थामा पारासिटामोल खाने र नखाने आमाबाट जन्मेका बालबालिकाहरुको तुलना गरिएको थियो ।

मुख्य अध्ययनकर्ता र परामर्शदाता प्रसूति विशेषज्ञ प्रोफेसर आस्मा खलीलले तथ्याङ्कहरु विश्लेषण गर्दा पारासिटामोलले अटिजमको जोखिम बढाउने कुनै प्रमाण नभेटेको बताउनुभयो । चिकित्कसको निर्देशनअनुसार खाँदा गर्भावस्थामा पारासिटामोल सुरक्षित विकल्प रहेको उहाँको भनाइ छ ।

अनुसन्धानमा संलग्न नभएका चिकित्सा विशेषज्ञहरूले पनि यस अध्ययनको निष्कर्षको स्वागत गरेका छन् । नेपालमा पनि पारासिटामोलको व्यापक प्रयोग हुन्छ । यो दुखाइ, ज्वरो र सामान्य रुघाखोकीको लागि सर्वसुलभ औषधी हो । तर गर्भवती महिलाहरूले पारासिटामोलसहित कुनै पनि औषधि प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।