असोज ४, २काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन आयोजना आउँदो असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति ८० प्रतिशत छ । आयोजनाको ६ दबमलव २ किलोमिटर लामो सुरुङ खनी कङ्क्रिट लाइनिङको काम धमाधम भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगङ्गा हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले हिजो निर्माणस्थलको अनुगमन गरी निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग छलफल गर्नुभएको छ ।
कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्याहरु झेल्दै आएको आयोजना आउँदो असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँका अनुसार कमजोर तथा जटिल भौगोलिक अवस्थिती, कोभिड–१९को महामारी, भूकम्पलगायतका वाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित ठाउँबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभाव बेहर्नुपरेको थियो । सर्वोच्च अदालतमा २०७८ मा नदीजन्य निर्माण सामग्री उत्खननमा रोक लगाउन मुद्दा परेको थियो । यो मुद्दा विचाराधीन छ । नदीजन्य निर्माण सामग्रीमा देखिएको समस्या अहिले अस्थायी रुपमा समाधान भएको छ ।
आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ छ । आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ । बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन् । त्रिशूली र देवीघाट जलविद्युतपछि भारतले विद्युत उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो ।