चार महिनामा ७ वटा जलविद्युत् आयोजनालाई निर्माणको अनुमति प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 मंसिर २, काठमाण्डौ – विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो चार महिनामा सातवटा जलविद्युत् आयोजनालाई निर्माणको अनुमति दिएको छ । ती अयोजनाको क्षमता ६९ दशमलव दुई मेगावाट रहेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।

यस्तै सौर्य ऊर्जातर्फ दुईवटा आयोजनालाई अनुमति दिएको छ । दुई वटाको कुल क्षमता ४० मेगावाट बराबर छ । यस्तै वायु ऊर्जातर्फ १० मेगावाट क्षमताको एउटा आयोजनालाई अनुमति दिएका महानिर्देशक सिंहले बताउनुभयो । यसरी गएको साउनदेखि कात्तिकसम्ममा एक सय १९ दमशलमव दुई मेगावाट क्षमताका १० वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् ।

विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । यही समयमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।

यस्तै २२ वटा विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र, सातवटा विद्युत् प्रसारण लाइनको निर्माण अनुमतिपत्र प्रदान गरेको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।