अर्थ मन्त्रालयको कार्ययोजना : अर्थतन्त्र सुधारका लागि आयोग गठन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ, भदौ १ – अर्थ मन्त्रालयले आउँदो सय दिनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा ३० वटा कार्यक्रम अघि सारिएको छ । कार्ययोजनामा अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने उल्लेख छ । आर्थिक सुधारका क्षेत्रको पहिचान गरी अर्थतन्त्र सुधारका लागि नीतिगत र कानुनी मार्ग पहिचान गर्न यस्तो आयोग गठन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, डिजिटल कारोबारलाई बढावा दिन उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता गर्ने मन्त्रालयको योजना छ । बजेट रकमान्तरलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन रकमान्तर कार्यविधि तर्जुमा गर्ने योजना पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

कार्ययोजनामा आन्तरिक राजस्व परिचालन रणनीति–०८१ कार्यान्वयन शुरु गर्ने, भन्सार मूल्याँकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावली–०८१ तर्जुमा गर्ने, गएको आर्थिक वर्षमा विधिसम्मत रुपमा सिर्जित दायित्व यकिन गरी भुक्तानी गर्ने विषय पनि उल्लेख छ ।

वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने थप दुई सय करदाताको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग शुरु गर्ने कार्ययोजना पनि मन्त्रालयले बनाएको छ ।

बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैङ्कको शाखा स्थापना गर्ने, वीरगन्ज, भैरहवा र नेपालगन्ज भन्सार कार्यालयमा ल्याब मोड्युल शुरु गर्ने मन्त्रालयको योजना छ । भन्सार प्रज्ञापनपत्रको मुख्य मुख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई एसएमएस वा इमेलमार्फत जानकारी गराउने प्रणाली पनि शुरु गर्ने मन्त्रालयको योजना छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।