सैनामैनाका नागरिकले अब निःशुल्क रगत पाउने, नगरपालिका र रेडक्रसबीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रेडियो टाइम्स,सैनामैना । 

सैनामैना नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच बुधबार विशेष सम्झौता भएको छ, जसअनुसार नगरबासीहरूले अब कुनै पनि रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) बाट रगत लिँदा लाग्ने सेवा शुल्क तिर्नु पर्ने छैन। उक्त खर्च अब नगरपालिका आफैंले व्यहोर्नेछ।

नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले यसअघि पनि नगरपालिका मार्फत निःशुल्क रगत सेवा सञ्चालन भएको तर प्राविधिक कारणले निरन्तरता दिन नसकिएको बताए। “अब यो मानवीय सेवालाई पुनः निरन्तरता दिइएको छ। हाम्रो नगरका कुनै पनि नागरिकले रगतको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहने छैन,” उनले भने।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति लाल प्रसाद पंगेनीले सैनामैनाको यो कदमले अन्य स्थानीय तहलाई पनि स्वास्थ्य क्षेत्रमा सामाजिक जिम्मेवारी पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका जिल्ला सभापति रामचन्द्र उपाध्यायका अनुसार, नगरबासीहरूले नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने कागजात पेस गरेमा निःशुल्क रगत पाउनेछन्। तत्काल परिचयपत्र नहुनेले न्यूनतम शुल्क तिरेर रगत लिन सक्ने र २४ घण्टाभित्र परिचयपत्र पेश गरेमा शुल्क फिर्ता हुने व्यवस्था गरिएको उपमन्त्री दिनेश पन्थीले जानकारी दिए।

यो सम्झौता २०८३ साल असार मसान्तसम्म लागू हुने र यसबाट नगरबासीको स्वास्थ्य सेवामा ठूलो सहजता आउने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।