परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नुभएको हो । परराष्ट्रमन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो ।

मन्त्रालयले विज्ञप्तिमार्फत चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल जेठ ३१ देखि असार ३ गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । साथै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ ।

मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ । भ्रमणका क्रममा उहाँले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ । उहाँले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री खनाल नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने मन्त्रालयले जानकारी दिएको छ । मन्त्री खनाल असार ३ गते स्वदेश फर्कनुहुनेछ ।

यसअघि मन्त्री खनालले गएको जेठ २२ देखि २४ गतेसम्म ३ दिन भारत भ्रमण गर्नुभएको थियो । नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।