काठमाण्डाै – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टाेल क्षेत्रमा नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा सांसद साम्पाङले एसएसबीले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताउनुभयो । यदि नेपाली सेनाले सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि सम्झौता भएको भए त्यसको पत्र पनि संसद्लाई जानकारी गराउन सरकारलाई उहाँले सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारको रक्षामन्त्री को हुनुहुन्छ ? सुस्तामा एसएसबी आएर नेपाली दाजुभाइलाई हप्कीदप्की गर्दै गरेका भिडियोहरू सार्वजनिक भएका छन् । संसदमा प्रधानमन्त्री त आउनु हुन्न । सभामुखले रुलिङ गरेर रक्षामन्त्रीलाई ल्याइदिनुपर्याे । सरकारले सेनालाई सीमामा अवलाेकन गर्न पठाउन पनि नमिल्ने के करार गरेको रहेछ ?'
सांसद साम्पाङले आफ्नो भूमिका लागि नेपाली नागरिकले मात्रै लड्नुपर्ने दुःखद अवस्था आउँदा पनि सरकारले चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।