उङ्गर बसमा विद्युत् पोल खस्दा थप त्रास
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–४ र ५ को सीमामा पर्ने घमाहा पुल भासिएपछि बनाइएको डाइभर्सन अव्यवस्थित हुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
बुटवल–गारुसिङ्गे ६ लेन सडक विस्तार योजनाअन्तर्गत घमाहा पुलमा पहिरो गई सडक तथा पुल भासिए पछि साना सवारीसाधनका लागि वडा नं. ५ हुँदै वडा नं. ३ को कभर्डहल नजिकको कजवे पुलमार्फत वैकल्पिक मार्ग सञ्चालन गरिएको थियो। तर उचित ट्राफिक व्यवस्थापन हुन नसक्दा उक्त क्षेत्रमा दिनहुँ सवारी जाम तथा दुर्घटनाको जोखिम बढ्दै गएको छ।
स्थानीयका अनुसार डाइभर्सन मार्ग अत्यन्त साँघुरो, धेरै मोड भएको तथा सानो पुल भएकाले सवारी सञ्चालनमा कठिनाइ भइरहेको छ। विशेषगरी दुईतर्फी सवारी सञ्चालन हुँदा जोखिम झन् बढेको यात्रुहरूले बताएका छन्।
उङ्गर बसमा विद्युत् पोल खस्दा थप त्रास
यसैबीच, डाइभर्सन क्षेत्रमा रहेको विद्युत् पोल भाँचिएर “उङ्गर बस” माथि खसेपछि थप त्रास सिर्जना भएको छ। घटनापछि सडक अवरुद्ध भएको छ भने बसमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मानवीय क्षतिको विवरण भने आउन बाँकी रहेको जनाइएको छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल सुरक्षित डाइभर्सन निर्माण, प्रभावकारी ट्राफिक व्यवस्थापन तथा विद्युत् संरचनाको मर्मत गर्न माग गरेका छन्। उनीहरूले समयमा ध्यान नदिइए ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्।
देशकै मुख्य राजमार्गअन्तर्गत पर्ने यस सडक खण्डमा दैनिक हजारौं सवारीसाधन सञ्चालन हुने भएकाले यात्रु सुरक्षा सुनिश्चित गर्न सरोकारवाला निकायको तत्काल ध्यान जानुपर्ने देखिएको छ।