रुपन्देही जिल्लाको सैनामैनामा आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना ४ राधाकृष्ण टोलमा श्रीमदभागवत कथा ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती २०८१ तथा राधाकृष्ण मुर्तिको प्राण प्रतिष्ठा हुने भएको छ ।
सैनामैना ४ मा रहेको राधाकृष्ण टोल अन्तरगत राधाकृष्ण मन्दिर तथा उद्यान परिसरमा यही माघ १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुन लागेको हो ।
श्रीमदभागवत कथा ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती २०८१ को बिषयमा जानकारी दिने उद्देश्यले शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मूल आयोजक समितिका संयोजक रामप्रसाद गौतमले आध्यात्मिक ध्यान केन्द्र बनाउन सहयोग जुटाउने, समाजमा धार्मिक सांस्कृतिक र नैतिक चेतना फैलाउने तथा युवा पुस्तालाई धार्मिक र सांस्कृतिक कार्यक्रममा जोड्दै समाजको विकासमा योगदान पु¥याउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
त्यसैगरी महायज्ञ मूल आयोजक समितिका महासचिव लालप्रसाद पंगेनी कृष्णले महायज्ञको अवसरमा सात दिनसम्म आयोजना हुने कार्यक्रमको बिषयमा जानकारी दिदै महायज्ञ सफल बनाएर ध्यान केन्द्र निर्माणमा सवै नेपाली दाजुभाई दिदी बहिनीहरुले साथ र सहयोग दिने विश्वास ब्यक्त गर्नुभयो ।
माघ १ गतेदेखि सुरु हुने महायज्ञको प्रमुख बाचकमा अन्तर्राष्ट्रिय कथाबाचक आचार्य विष्णुप्रसाद ज्ञवाली रहनुभएको छ । प्रमुख कथाबाचक ज्ञवालीले प्ुस महिनाभरी देवताहरु सुतेको अवस्थामा हुनुभएको र माघ लागेपछि देवताहरु जाग्नुभएकोले माघ महिनाको अवसर पारेर राधाकृष्ण मुर्तिको प्राण प्रतिष्ठाका लागि सवै साईतको लग्न हेरेर महायज्ञको शुभारम्भ गरिने बताउनुभयो ।
महायज्ञको पहिलो दिन माघ १ गते कलश यात्रा हुने छ भने सोही दिन महायज्ञको समुदघाटन गरिने कार्यक्रम रहेको छ । त्यसैगरी महायज्ञकै अवसरमा ध्यान तथा योग प्राणायाम, सामूहिक पुजा, मेरो स्वास्थ्य मेरो जिम्मेवारी बिषयक विद्यार्थी लक्षित प्रवचन, हरेक दिन श्रीमदभागवत कथा बाचन र साँझमा महाआरती र भजन किर्तन हुनेछ ।