वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेश गर्न नपर्ने अध्यागमन विभागको स्पष्टीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेश गर्न नपर्ने स्पष्ट पारेको छ । वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबीच यो स्पष्टीकरण आएको हो ।

विभागले निकालेको सूचनाअनुसार श्रमिकले श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आवश्यक कागजात बाहेक कुनै पनि बिल वा रसिद देखाउन पर्ने छैन । गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा विद्यमान कानूनी व्यवस्थाअनुसार भिजिट भिसामा विदेश जाने नेपालीका लागि कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्यसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भए पुग्नेछ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा भने श्रम स्वीकृति र राहदानीलगायतका आधारभूत कागजात मात्रै अनिवार्य हुनेछन् । वैदेशिक रोजगार विभागले चैत २९ गतेदेखि लागू हुनेगरी हवाई टिकट, त्यसको बिल र म्यानपावरलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको थियो । अध्यागमन विभागले नागरिकलाई कुनै पनि भ्रममा नपरी आवश्यक जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रह गरेको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।