पीएम कप क्रिकेट : बागमतीले मधेशलाई हरायाे, काेशीकाे लगातार साताैँ हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र एपीएफ क्लब विजयी भएका छन् ।

वीरगञ्जमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई ३५ रनले हरायो । बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको मधेश ३४ ओभर ३ बलमा १७३ रनमा अलआउट भयो । मधेशका मयन यादवले ४० रन बनाए । बागमतीका प्रतिस जिसीले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ४८ ओभर ४ बलमा २०८ रन बनाउँदा सबै विकेट गुमायो । बागमतीका उत्तम मगरले ४४ रन बनाए । मधेशका पवन सर्राफले ३ विकेट लिए ।

यो जीतसँगै बागमती ८ खेलमा ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । मधेश ७ खेलमा ९ अङ्कसहित चौथो स्थानमा छ ।

यस्तै जनकपुरमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ५ रनले हरायो । एपीएफले दिएको २२६ रनको लक्ष्य पछ्याएको कोशी ४९ ओभर ५ बलमा २२० रनमा अलआउट भयो । कोशीका अङ्कित सुवेदीले ७२, सुमन श्रेष्ठले ६५ रन बनाए । एपीएफका अभिषेक गौतमले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफले ४७ ओभर ५ बलमा २२५ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका सन्दीप जोराले ७२, सुमित महर्जनले ५७ रन बनाए । कोशीका सुजन थपलियाले ३ विकेट लिए ।

यो जीतसँगै एपीएफ ८ खेलमा ९ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । लगातार ७ खेलमा हार बेहोरेको कोशी ८ खेलमा १ अङ्कसहित पुछारमा छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।