काठमाण्डौ उपत्यकामा ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियान शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियान शुरु गरेको छ । कार्यालयले आज विशेष कार्यक्रम आयोजना गरेर सप्ताहव्यापी अभियान शुरु गरेको हो ।

माघ ३ गतेसम्म चल्ने अभियानमार्फत गाडी दुर्घटनाको कारण, प्रभाव तथा समाधानका उपायबारे व्यापक जनचेतना फैलाउने लक्ष्य लिइएको ट्राफिक प्रहरीले जनाएको छ । शुभारम्भ समारोहमा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दुर्घटना कम गर्न चालक र आम नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो । दुर्घटनापछि हुने जोखिमलाई ख्याल गरेर पूर्व सावधानी अपनाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

गाडीको चाप, सडक पूर्वाधारको सीमितता, चालकको लापरवाही, ट्राफिक नियम उल्लङ्घन, जाँडरक्सी खाएर गाडी चलाउने प्रवृत्तिलगायत कारणले काठमाण्डौ उपत्यकामा दुर्घटनाको जोखिम बढ्दै गएकोले अभियान आवश्यक रहेको प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले यो अभियान नियम कार्यान्वयनमा सीमित नभई सचेतनामूलक, सामाजिक तथा व्यवहार परिवर्तनमुखी कार्यक्रमहरूमा केन्द्रित रहने बताएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।