काठमाण्डौ – एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोजमा आयोजना हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ ।
दुवै संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो। यस पटकको प्रतियोगितामा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । लिगको पहिलो संस्करण काठमाडौंमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो ।
एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यावसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ ।