काठमाण्डौ — सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार गणेशको उपचारमा संलग्न डाक्टरहरुले सुरुआतमा दिएको सुझावअनुसार नेपालीलाई भारतको नयाँदिल्लीमा रहेको ‘एम्स’ अस्पतालमा लैजान तयारी थियो ।
सरकारले जलनका बिरामी नेपालीका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट ब्यहोर्ने निर्णय समेत गरिएको थियो ।
वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहनुभएका नेपालीको उपचार चलिरहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने डाक्टरहरुलले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलिने भएको हो ।
हिजो दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीरकाे ५५ प्रतिशत भागमा जलन भएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपाली टोली उपचारमा संलग्न छ ।
नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफूलाई जलाउनुभएको थियो ।