पूर्वी नेपालसहित काठमाण्डौ उपत्यकाका साना नदीमा बाढीको जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — देशका पूर्वी तथा मध्य पहाडी क्षेत्रका विभिन्न ठाउँमा बाढीको जोखिम रहको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदा केही दिनसम्म पानी परिरहने भएकाले साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ ।

महाशाखाका अनुसार आज इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।

यससँगै काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, बर्दिया तथा आसपासका जिल्लाका साना नदी र खोलाहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

विशेष गरी शहरी क्षेत्रमा रहेका खोला, करिडोर तथा नदी किनारका बस्तीहरूमा डुबान र आकस्मिक बाढीको जोखिम रहने भएकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ ।

नदी किनारमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचनामा निरन्तर ध्यान दिन महाशाखाको आग्रह छ ।

आजदेखि तीन दिनसम्म ठूलो वर्षाको सम्भावना भएकाले पर्सिसम्म नै बाढीको जोखिम रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।