एक हप्तायताको भीषण आँधी र बाढीका कारण कम्तिमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ ।
हजारौँ नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ आज ताइवानको उत्तर भाग हुँदै अघि बढ्ने र त्यसपछि भोलि राति चीनको फुजियान र झेजियाङ प्रान्तको सीमाक्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसअघि यसले साइपनसहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो ।
ताइवानमा ठूलो वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन् । उत्तरी तटमा माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङलगायतका गन्तव्यका धेरै उडान भोलिसम्म रद्द गरिएका छन् ।
चीनको झेजियाङ प्रान्तमा १७ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । झण्डै एक लाख ७० हजार उद्धारकर्मीलाई सम्भावित विपद्का लागि तयारी अवस्थामा राखिएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।