शेयर बजार साढे ६२ अङ्कले बढ्यो, ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 कात्तिक २५, काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव ५४ अङ्कले बढेर दुई हजार सात सय ३८ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज गुराँस लघुवित्त, शृजनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी विकास बैंक र समृद्धि फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सानिमा ग्रोथ फन्डको शेयर भने झन्डै सात प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि निकै बढेको छ । अघिल्लो कारोबार दिन गएको बुधवार पाँच अर्ब २२ करोडको शेयर कारोबार भएकोमा आज तीन सय २५ वटा कम्पनीका दुई करोड २४ लाख कित्ता शेयर नौ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।