एमाले सांसद राजेन्द्र राईले सभामुखको अपहेलना गरेको भन्दै प्रतिनिधिसभा बैठक १५ मिनेट रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अपहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

राईले बोल्दै गर्दा सभामुखको अपहेलना भएको भन्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक स्थगित गर्नुभएको हो । एमाले सांसद राईले सोध्नुभएको ‘तपाईँले कान सुन्नु हुन्छ कि हुन्न’ भन्ने प्रश्नले सभामुखको अपहेलना भएको अर्यालको भनाइ छ ।

स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुरै नसुनी सभामुखले माइक काटिदिएको दाबी गर्नुभयो । त्यसपछि सभामुख अर्यालले सांसद राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो ।

यसैबीच आजको बैठकमा पनि एमाले, नेकपा, श्रम संस्कृति पाटी, राप्रपालगायतका विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन ‘रुलिङ’ गर्न माग गरेका छन् ।

यसअघि प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ ।

प्रधानमन्त्री शाहको सीमा विवादबारेको अभिव्यक्तिमाथि प्रश्न उठेको ३९ दिन पुग्यो । विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन् ।

तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुखले पनि ‘रुलिङ’ गर्नुभएको छैन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।