काठमाण्डौ — आज काठमाण्डौ उपत्यकासहित २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको बाढी पूर्वानुमान बुलेटिन अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, लमजुङ, बाग्लुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र बझाङका आसपासका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।
यी ठाउँको नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका एक/दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ ।