मंसिर २२, म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्य चौकी भवन बनेपछि खुशी हुनुहुन्छ । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने पुनको भनाइ छ ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेको चिमखोलामा स्वास्थ्य चौकी भवन निर्माण भएपछि स्थानीयवासीले नौमती बाजासहित नाचगान गरेर खुशीयाली मनाएका छन् । गाउँपालिका र सङ्घीय सरकारको एक करोड ७९ लाख ३९ हजार ३२ रुपैयाँ लागतमा दुई तले सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।
भवन उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आवश्यक सामग्रीको बन्दोबस्त गरी नवनिर्मित भवनबाट सेवा शुभारम्म गरिएको बताउनुभयो । उहाँले भवनमा थप औजार उपकरण र औषधिको उपलब्धता गराएर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
भवनमा बिरामी जाँच, बर्थिङ सेन्टर, औषधि भण्डारण, कर्मचारी आवासलगायतका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । खुला ठाउँ र फराकिलो कोठाहरू रहेकाले बिरामीको जाँच गर्न र सेवाग्राहीलाई समेत सहज रूपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्य चौकीका प्रमुख हिस्टुरी पाइजाले जानकारी दिनुभयो ।
विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यसअघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकिएको र नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न लागिएको वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो ।