काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा जानुभएको हो ।
परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनुभएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेशमन्त्री जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । साथै बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार–विमर्श हुने कार्यसूची छ । परराष्ट्रमन्त्री खनाल पर्सि जेठ २४ मा स्वदेश फर्कनुहुनेछ । पाँच दिने भारत भ्रमण रहेका रास्वपाका सभापति रवि लामिछाने आज स्वदेश फर्किदै हुनुहुन्छ ।
स्वदेश फर्किनुअघि आज बिहान उहाँ अयोध्या पुग्नुभएको छ । भारत भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।