युरोकप फुटबल : आजदेखि क्वाटरफाइनलका खेल हुँदै, स्पेन र जर्मनी तथा पोर्चुगल र फ्रान्स खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

युरो कप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा आज राति पौने १० बजे स्टटगार्टमा स्पेन र घरेलु टोली जर्मनी खेल्दैछन् । दुवै टोली उपाधि दाबेदार हुन् ।

यसअघि अन्तिम–१६ मा स्पेनले जर्जियालाई ४–१ र जर्मनीले डेनमार्कलाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् । यो खेलमा दुवै टोलीका युवा टोलीमा नजर हुनेछ ।

युरो कप फुटबलमा स्पेन र जर्मनी सबैभन्दा सफल टिम हुन् । दुवै टिमले समान ३ पटक उपाधि जितेका छन् । युरो कपमा यी दुई टिमबीच अहिलेसम्म २६ खेल भएकोमा जर्मनीले ९ र स्पेनले ८ पटक जित्दा ९ खेल बराबरीमा सकिएको छ ।

यस्तै क्वार्टरफाइनलको दोस्रो खेलमा आजै राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्स खेल्दैछन् । यसअघि अन्तिम–१६ मा पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी शुटआउटमा ३–० र फ्रान्सले उपहार गोलमा बेल्जियमलाई १–० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।

दुवै टोलीमा स्टार खेलाडी प्रशस्त छन् तर पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका युवा कप्तान केलियन एमबाप्पेको प्रदर्शन हेर्नलायक हुनेछ । यद्दपि यो युरो कपमा दुवै स्टार खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

फ्रान्सले अहिलेसम्म २ पटक उपाधि जितेको छ भने पोर्चुगल १ पटक विजेता बनेको छ । युरो कपमा यी दुई टिमबीच अहिलेसम्म २५ खेल भएकोमा फ्रान्सले १६ र पोर्चुगलले ६ पटक जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।