काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।
साउन १५ देखि भदौ १५ गतेसम्मको कार्यतालिकाअनुसार साउन महिनामा अब ३ वटा बैठक बस्नेछन् । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा शून्य समय, विशेष समय चलाउने भनिएको छ । साउन २५ र २६ गते पनि बैठक बस्नेछ । भदौ महिनामा १५ गतेसम्म १, २, ३, ८, ९ र १० गते गरी ६ दिन बैठक बस्नेछ ।
सभाको बैठक नतोकिएको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र सभाको बैठक बस्ने दिनमा समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ ।
यसैबीच प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेन्डरमा यो विषय पर्न छाडेको छ । गएको जेठ १७ गते तत्कालीन प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिएयता यस्तो कार्यक्रम हुन सकेको छैन ।
नियमावलीअनुसार आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले ७ दिनभित्र दिनुपर्ने व्यवस्थासमेत पूर्णरूपमा पालना भएको छैन ।
यसबीचमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर सदनमा उपस्थित भई समसामयिक विषयमा सम्बोधन गर्न आग्रह गर्नुभएकोमा प्रधानमन्त्रीले विचार गर्ने प्रतिक्रिया दिनुभएको छ ।