बजेटमा नसमेटिएकाे विषय माैद्रिक नीतिमा व्यवस्था गर्नुपर्छ : निजी क्षेत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो । अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ ।

यस्तै परिसङ्घका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढाउने कार्यक्रम र क्षेत्रगत आवश्यकताअनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो । सङ्कटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ ।

दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार गर्न पनि माग गरेका छन् ।

यस्तै छलफलमा पूर्वगभर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो । देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।