गुल्मीमा पहिरोबाट मृत्यु भएका परिवारले पाए ११ लाख राहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मीमा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई सरकारले ११ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

संघीय र प्रदेश सरकारको तर्फबाट प्राप्त ११ लाख रुपैयाँ राहत रकम परिवारलाई उपलब्ध गराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति १/१ लाख र एकै परिवारका ५ सदस्यको मृत्यु भएकोले थप १ लाख तथा प्रदेश सरकारका तर्फबाट प्रतिव्यक्ति १/१ लाख राहत हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

गत शुक्रबार गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, जेठी बुहारी २६ वर्षीया सिता, नातिनी ८ वर्षकी सपना र ८ महिनाकी अर्की नातिनी विपनाको मृत्यु भएको हो । घरमा बसेका सबै सदस्यको मृत्यु भएपछि उनका तीनभाई छोराहरु अहिले जेठो बुवाको घरमा किरिया बसेका छन् ।

करिब २० वर्षअघि घरमाथिबाट पहिरो खसेर जोखिम भएपछि साबिक अर्जे–४ का भेषबहादुरलाई गाउँलेले नजिकै घर बनाउने जग्गा मिलाइदिए । त्यही जग्गामा उनले २०६०/०६१ सालतिर घर बनाएर बसे । तीनभाई छोरा र दुईबहिनी छोरी हुर्काए ।

छोरीहरु बिहे गरेर गए । छोराहरु कमाउन परदेश पसे । जेठी बुहारी २ साना छोरीहरुसहित सासुससुराको हेरचाह गरेर घरमै बसिन् । पहिला जोखिमपूर्ण घर छाडेर नयाँ ठाउँमा बसेका भेषबहादुरकाे परिवारलाई अन्ततोगत्वा पहिरोलेनै लग्यो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।