काठमाण्डौ - नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौज्दात रहेको दाबी गरे पनि बजारमा अभाव उस्तै छ ।
निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो सञ्चालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन् । सरकारले भरी सिलिन्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो । बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायरकहाँ पुगेर खाली सिलिन्डर लाइनमा राख्न थालेका छन् ।
एउटा ग्यास साट्न मात्रै पनि हप्तौँसम्म कुर्नुपरेको उपभोक्ताको गुनासो छ । कतिपय उपभोक्ता भने ग्यास सिलिन्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन् । दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन् । आयल निगमको टेकु कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो, अरू डिलर र विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत् छ ।
यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । विभागले हिजो काठमाण्डौ उपत्यकाका विभिन्न ११ वटा उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कारबाही तथा आवश्यक निर्देशन दिएको हो ।
केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ ।