काठमाण्डौ — नेपालमा विदेशी पर्यटक आगमन बढ्दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ ।
पर्यटन विभागका अनुसार अहिले देशभर ३५० तारेस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएकोे वर्षको ३३५ को तुलनामा वृद्धि भएकाे हो । तीमध्ये २९ वटा पाँचतारे होटल रहेका छन् ।
अहिले सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा १६ हजार ६१३ कोठा र २६ हजार २८५ शय्या उपलब्ध छन् । काठमाण्डौ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगञ्ज, भद्रपुरलगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढिरहेको विभागले जनाएको छ ।
पर्यटन विभागले समयअनुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको–टुरिजमलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिरहेको जनाएको छ । परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी छ ।
होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले तारे होटलको सङ्ख्या बढ्नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढेको संकेत भएको बताउनुभयो । भारतीय पर्यटकको आगमन, पर्यटनमैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटन उद्योग अझै विस्तार हुने उहाँको विश्वास छ ।
होटल व्यवसायीहरूका अनुसार होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको चलायमान तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुगेको छ । अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ ।
कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ । सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका थिए । चालु वर्षको जुनसम्म पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन् ।