मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडीएबीच सहकार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य शुरू भएको छ ।

क्यान महासंघको खुसिबुमा रहेको केन्द्रीय कार्यालयमा दुवै भएको दुई संस्थाको छलफलमा नेपालको मोबाइल क्षेत्रले भोगिरहेको नीतिगत अस्पष्टता, अनधिकृत च्यानलबाट भित्रिने मोबाइल (ग्रे मार्केट) का चुनौतीहरू र समग्र हार्डवेयर तथा मोबाइल इकोसिस्टमको नियमनका विषयमा विस्तृत छलफल भएको थियो ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारीले संयुक्त रूपमा यो सहकार्यले नेपाली मोबाइल बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा बलियो दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोबाइल तथा प्रविधिको क्षेत्र देशकै अर्थतन्त्रको मेरुदण्ड बनिसकेको अवस्थामा यस भित्रका बेथिति अन्त्य गर्न दुवै संस्थाको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

एनएमडीएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जस्ता प्रणालीको प्रभावकारी कार्यान्वयन र व्यावहारिक आयात नीतिका लागि क्यान महासंघसँगको यो गठबन्धनले ठूलो ऊर्जा दिएको उल्लेख गर्नुभयो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।