सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — सप्तरीको राजविराज र धनुषाको जनकपुरमा आज बिहानदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान  ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।

राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर सम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकामा भने गएराति १० बजेदेखि नै अनिश्चितकालीन कफ्र्यु लागू गरिएको छ । कर्फ्यू आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यू  आदेश कायम रहेको छ । बिहान  ६ बजेदेखि  ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन दिइएकोमा अहिले फेरि अनिश्चतकालका लागि कर्फ्यू कायमै रहेको प्रशासनले जनाएकोे छ ।

कर्फ्यूका बेला अत्यावश्यक सेवाहरू अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका गाडी सञ्चालनमा कुनै रोक नलगाएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा यात्रा गर्न दिइएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।