नरेश चौधरी, सैनामैना, मंसिर १४ । रुपन्देहीको सैनामैना–६,कलौनी स्थित चोकमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आज (विहिबार) भएको खेलमा कास्की, स्याङ्जा र रुपन्देही जिल्लाले जित हासिल गरेका छन् ।
कास्की र अर्घाखाँची विच भएको पहिलो खेलमा २५–१७, २५–२१, र २५–२३ को सोझो सेटमा अर्घाखाँचीलाई पराजित गर्दै कास्की जिल्लाले जित हासिल गरेको हो । गुल्मी र स्याङ्जा विच भएको दोस्रो खेलमा २५–२१, २०–२५, २५–१८, २०–२५ र १३–१५को सेटमा गुल्मी जिल्लालाई पराजित गर्दै स्याङ्जाले जित हासिल गर्यो । त्यस्तै आजै भएको रुपन्देही र कपिलबस्तु विचको तेस्रो खेलमा २५–१५, २५–१५, र २५–२३ को सोझो सेटमा कपिलबस्तु जिल्लालाई पराजित गर्दै रुपन्देही जिल्लाले जित हासिल गरेको हो ।

स्थानीय दुधराक्ष युवाक्लको आयोजनामा जारी अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि जित्ने बिजेताले नगद र.१ लाख ११ हजार १ सय ११ ट्रफी, प्रमाणपत्र, उप–बिजेताले नगद रु.७७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी, प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु.४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी, प्रमाणपत्र पाउने छन् । त्यस्तै सान्त्वना हुने टिमले नगद रु.२२ हजार २ सय २२ रुपैयाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुले नगद ७ हजार ७ सय ७७ रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
भोलि (शुक्रबार) पहिलो खेल रुपन्देही र गुल्मी विच, दोस्रो खेल नवलपुर र नवलपरासी विच, तेस्रो खेल स्याङ्जा र पाल्पा विच र चौथो खेल बाग्लुङ र कास्की विच हुने खेल संयोजक विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो ।