अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।

यस्तै भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि मंगलवार पनि कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकोले बाढी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाइँ गर्न नसकिरहेको बेला अबका केही दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाइँका लागि आवश्यक वर्षा हुने मौसमविद्को अनुमान छ ।

मंगलवारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ । अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसुन अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।