जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ । कुमामोतोको एउटा शपिङ सेन्टरभित्र फसेका मानिसको उद्धार कार्य भइरहेको छ । त्यहाँ तीन जनाको ज्यान गएको र अरू धेरै मानिस फसेका आशङ्का गरिएको छ ।
इओस शपिङ सेन्टरको दोस्रो तला भत्किएको छ । कुमामोतो जापानका चार प्रमुख टापुमध्येको क्युशुमा अवस्थित शहर हो । जापानको क्यूशु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो ७.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट १३ जनाको ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ ।
कुमामोतोका स्थानीय अधिकारीले झण्डै १० हजार जनालाई सुरक्षित ठाउँमा सारिएको बताएका छन् । जापान विश्वमै भूकम्पको उच्च जोखिममा रहेका देशहरूमध्ये एक हो । त्यहाँ एक वर्षमा झण्डै १ हजार ५०० वटा जति भूकम्प जाने गर्छन् ।