रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १६ नरैनापुरमा महाशिवरात्री मेला २०८१ हुने भएको छ । यही फागुन १४ गते महाशिवरात्री पर्वको अवसरमा नरेश्वर महादेव बोलबम धामको आयोजनामा शिवरात्री मेला हुने भएको हाे । मेला सञ्चालनका लागि सबै तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ ।
महाशिवरात्री पर्वकाे अवसरमा यही फागुन १४ गते देखि २२ गतेसम्म नरेश्वर महादेव बोलबम धाममा मेला सञ्चालन गरिने धाम व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेलले जानकारी गराउनुभयो ।
रुपन्देहीकै पुरानो इतिहास बोकेको नरेश्वर बोलबम धाम मन्दिरमा महाशिवरात्रीको अवसरमा हरेक वर्ष धार्मिक तथा साँस्कृतिक मेलाको आयोजना हुर्दै आएकाले सोही मेलाको निरन्तरतासँगै यो वर्ष पनि मेला संचालनका लागि तयारी गरिएकाे उहाले बताउनु भयाे ।
नरेश्वर बाेलबंम धाममा वर्षाै देखि महाशिवरात्रीमा पुजा तथा जलार्पण कार्यक्रम गर्ने परम्परा चाल्दै आएको छ । धाममा यसरी जलापर्ण गर्दा मनोकामना पुरा हुने जनविश्वास छ । धार्मिक, सास्कृति तथा पर्यटकीय महत्व रहेको ऐतिहासिक नरैनापुर मेलाको संरक्षणका र प्रचार–प्रसारका लागि विभिन्न प्रयासहरु भैरहेको छ र यस क्षेत्रको धार्मिक गन्तव्यको रुपमा रहेको धामको विकास र प्रचारप्रसारमा सरकारी र सरोकारवालको भुमिका आवश्यक रहेको अध्यक्ष पौडेलले जोड दिनुभयो ।
मेलाको इतिहासबारे नरेश्वर बोलबम धामका सल्लाहकार काशीराम शर्माले परापूर्वकालदेखि शिवरात्रीको अवसरमा मेला लाग्ने गरेको पौराणिक किंवदन्ती रहेको बाउबाजेबाट सुन्दै आएको बताउनुभयो ।
इतिहासमा कौरव र पाण्डवहरुको लडाइको समयमा पाण्डवहरु वनबास र गुप्तबास बस्न भारतबाट विराट राजाको दरबार यही बाटो भएर जानेक्रममा एक महिनासम्म यही ठाउँमा बास बसि शिवलिङ्ग स्थापना गरेर पुजाआजा गर्ने गरेको इतिहास पुराना बुढापाकाबाट सुन्दै आएको बताउनुभयो । स्थानिय एक व्यक्तिले झाडीभित्र शिवलिङ्ग फेला पारेपछि त्यहाँ मन्दिर निर्माण गरि संरक्षण र प्रबद्र्धन गरि पुजापाठ गर्न लागिएको र महाशिवरात्रीमा जलार्पण तथा मेला संचालन हुदैँआएको इतिहासकारहरु बताउँछन् उहाँले भन्नुभयो ।
सात दिन सम्म चल्ने मेलाको आकर्षणका रुपमा बाल उद्यान, पिङ, स्थानिय स्तरका सामाग्रीहरुको प्रदर्शनी, दैनिक खाद्य उपभोग्य वस्तु, विभिन्न प्रकारका मिठाई र साँस्कुतिक कार्यक्रम रहेको धामका सचिव तुल बहादुर चौधरी जानकारी गराउुनभयो । मेलामा ९० फिट अग्लो ट्रि टावर निर्माण गरिएको छ, ट्रि टावरमा चढेर मेलाको दृश्य अवलोकन गर्न सकिनेछ ।
रुपन्देही जिल्लाको विभिन्न ठाउँबाट दर्शन गर्न भक्तजनहरु आउने गरेका छन् भने छिमेकी जिल्ला र भारतको गोरखपुरदेखि पनि दर्शनार्थीहरु आउने गरेको आयोजकले बताएको छ भने यस वर्षको शिवरात्रीमा कम्तीमा १ लाख ५० हजार भक्तजनले मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ ।
मेलालाई व्यवस्थित तारिकाले संचालन गर्न १७ वटा उपसमिति बनाएर तयारी भैरहेको छ भने अहिले सम्म १ सय ५० वटा स्टल दर्ता भएका छन् भने अरु आउने क्रम जारी रहेको छ ।