लगातार ५ ‘मेडन’ ओभरमा विकेट लिँदै कीर्तिमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाकिस्तानसँगकाे पहिलाे टेस्टमा २७ रन खर्चेर ५ विकेट लिएपछि वेस्ट इन्डिजका जस्टिन ग्रिभ्स । तस्वीर : एएफपी

काठमाण्डाै – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले लगातार ५ वटा ‘मेडन’ ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन् ।

पाकिस्तानसँगको पहिलो टेस्टको तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन् । ३२ वर्षीय ग्रिभ्सले पाकिस्तानको पहिलो पारीको ६४औँ, ६६औँ, ६८औँ, ७०औँ र ७२औँ ओभरमा ‘मेडन राख्दै’ ५ विकेट लिएका हुन् । याेसँगै १७औँ टेस्ट खेलिरहेका उनले एकै टेस्टमा पहिलाे ५ विकेट लिए । 

त्यही दिन यसअघि ६ ओभर गरेका ग्रिभ्सले २७ रन दिएर कुनै विकेट पनि लिएका थिएनन् ।

ग्रिभ्सले सन् २०१६ मा जोहानेसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इङ्ल्यान्डका तीव्र गतिका पूर्वबलर स्टुअर्ट ब्रोडले बनाएको लगातार ४ ‘विकेट–मेडन’ ओभरको कीर्तिमान तोडेका हुन् ।

एक समय ४ विकेट गुमाएर २४४ रन बनाएको पाकिस्तानले २८२ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । पाकिस्तान शान मसूदले १०९, इमाम–उल–हकले ६३ रन बनाए ।

वेस्ट इन्डिजले पहिलो पारीमा शाई होपको ९२, काभम हजको ८४ रनको मद्दतमा ३११ रन बनाएको थियो ।

यस्तै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इन्डिजले तेस्रो दिनको खेल सकिँदा ७ विकेट गुमाएर १२६ रन बनाएको छ । वेस्ट इन्डिजले १५५ रनको अग्रता लिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।