जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन्। सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गरेको उनको जिकिर थियो।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए। कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाइ थियो। अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको बताए। अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रुपमा देखिएको दाबीसमेत गरे।