रास्वपाको पदाधिकारी छान्न मतदान शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी छान्न मतदान शुरू भएको छ । महाधिवेशनको छैटौँ दिन आज दोस्रो चरणमा पदाधिकारी छान्नका लागि मतदान शुरू भएको हो ।

पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नुभएको छ । त्यस्तै उपसभापतिमा पुरुषतर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध हुनुभएको छ ।

अहिले महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको हाे ।

उपसभापति महिला एक जनातर्फ भने सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालले उम्मेदवारी दिनुभएको छ ।

महामन्त्री पदमा उम्मेदवारी दिएका राजुनाथ पाण्डे, रञ्जु दर्शनासहित कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो । बुर्लाकोटी, पराजुली, न्यौपाने र दर्शनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ । अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ ।

त्यस्तै महिला एकसहित निर्वाचित हुने तीन सहमहामन्त्रीमा पुरुषतर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ ।

महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रीमा विश्वकर्माले उम्मेदवारी दिनुभएको छ । रास्वपाको केन्द्रीय पदाधिकारी १९ सदस्यीय हुने व्यवस्था छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।