नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलले दलको नेता परिवर्तन गरेको निर्णय प्रदेश सभाले मान्यता नदिएको जनाइएको छ ।
प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै नाउपाको संसदीय दलको नेता रहेकाे उल्लेख छ ।
दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् । यसअघि संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरण सहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो ।
बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको जानकारी प्रदेश सभालाई दिइएको थियो ।
दलको नेता परिवर्तन गर्ने नाउपा संसदीय दलको निर्णयलाई प्रदेश सभा सचिवालयले के कारण मान्यता दिएन भन्ने खुलाइएको छैन ।
लुम्बिनीमा नाउपाका ४ जना सांसद छन् ।
संसदीय दलको नेताबाट हटाईएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन् ।
श्रीमान-श्रीमती रहेका रेशम र रञ्जिताबीचको विवादले नाउपा केन्द्रदेखि प्रदेशसम्म दुई भागमा विभाजित भएको छ ।
योसँगै लुम्बिनीमा राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको तयारीमा धक्का लागेको छ ।
यद्यपि मन्त्री बन्नका लागि दलको नेता हुनुपर्ने कानुनी ब्यवस्था भने छैन ।