चुनावी प्रचारमा राष्ट्रिय झण्डा : देशप्रेम कि अपमान ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पहिले पहिलेको चुनावमा दलहरुले आ–आफ्नो पार्टी र चुनाव चिन्ह भएको झण्डा मात्रै बोकेर भोट माग्न हिँड्थे । भोट माग्ने बेला पार्टीको झण्डा भन्दा पनि बढी चुनाव चिन्ह नै देखाउने चलन छ । पहिलेको चुनावमा त चुनाव चिन्ह भएको झण्डासँगै झोला, टिसर्ट, टोपीदेखि टिकासम्म लगाउनेहरु पनि थिए । घर र भवनको भित्तादेखि पाखापखेरा र ढुङ्गा माटोमा समेत चुनाव चिन्ह कोर्न तँछाडमछाड हुन्थ्यो । अहिले यसरी जथाभावी भित्ते लेखन, प्रचापम्पलेट र तडकभडक गरेर चुनाव प्रचार गर्न पाईंदैन । चुनाव चिन्ह भएको झण्डा बोकेर चाहिँ हिंड्न पाइन्छ । 

पछिल्ला केही चुनावदेखि त पार्टीको र चुनाव चिन्ह भएको झण्डासँगै राष्ट्रिय झण्डा बोकेर हिंड्ने प्रतिस्पर्धा बढेको छ । आफूलाई अरूभन्दा बढी राष्ट्रवादी देखाउने मोहले दल र उम्मेदवारहरु राष्ट्रिय झण्डा प्रदर्शन गर्ने होडबाजीमा देखिन्छन् । कतिपयले पार्टीको र चुनाव चिन्हको झण्डासँगै राष्ट्रिय झण्डा पनि फहराउँछन् । चुनावी कार्यक्रममा हिँडेका नेता, कार्यकर्ता र उम्मेदवारको गाडी अनि मोटरसाइकलमा झण्डा फहराउने गरेको देखिन्छ ।  योसँगै गलबन्दी र पछ्यौरा ओढेजसरी राष्ट्रिय झण्डा शरीरमा बेरेर हिंड्नेहरु पनि छन् । यसरी काँधमा र पिठ्युँमा समेत राष्ट्रिय झण्डा बेरेर चुनावी प्रचार गरेको देखेपछि चाहिँ यसको आलोचना हुन थालेको हो ।

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले फेसबुकमा लेख्नुभएको छ, ‘राष्ट्रिय झण्डाको धेरै नै दुरुपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनु पर्‍याे । राष्ट्रिय झण्डा ओढ्ने कपडा होइन ।’

वरिष्ठ अधिवक्ता आचार्यको यो टिप्पणीमा धेरैले सहमति जनाउँदै राष्ट्रिय झण्डाको अपमान नगर्न आग्रह गरेका छन् । हुन त चुनावी प्रचारमा राष्ट्रिय झण्डा बोकेर हिँड्न पाइन्छ । निर्वाचन आयोगले पनि आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटासम्म राष्ट्रिय झण्डाको प्रयोग गर्न छुट दिएको छ । २०७६ मा संशोधन भएको राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी कार्यविधि अनुसार राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आंँच नआउने गरी हरेक नागरिकले यसको प्रयोग गर्न पाउँछन् । चुनावी प्रचार लगायतका अरू राजनीतिक क्रियाकलापमा पनि राष्ट्रिय झण्डाको प्रयोग गर्न मिल्छ । तर राष्ट्रिय झण्डाको मर्यादा र सम्मानको चाहिँ ख्याल गर्नुपर्छ । 

झण्डा राख्नु र झिक्नुमा समेत निश्चित नियम हुन्छ । कुनै पनि सरकारी कार्यालय वा प्रतिष्ठानमा बिहान सम्मान सलामीसहित झण्डा फहराइन्छ र साँझ उसैगरी झारिन्छ । त्यसैगरी राज्यले तोकेका उच्च ओहोदाका व्यक्तिहरु चढ्ने गाडीमा फहराइएका झण्डा समेत ती व्यक्ति गाडीबाट उत्रेपछि कभरले ढाकिन्छ र चढ्ने बेलामा फहराइन्छ । झण्डा उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झण्डाको प्रतीक व्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न पाइँदैन । यसको अर्थ बर्को ओढेझैं वा ज्याकेट वा कोट लगाएझैं पिठ्युँमा झण्डा ओढ्नु भनेको राष्ट्रिय झण्डाको अपमान गर्नु हो ।

सामाजिक सञ्जालमा धेरैको टिप्पणी छ, ‘राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा होइन । यो इतिहास, बलिदान र भावी पुस्ताप्रतिको जिम्मेवारी हो । देशप्रेम झण्डा ओढेर होइन, झण्डाको मर्यादा जोगाएर देखाउन सक्नुपर्छ ।’ 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।