सैनामैनामा भूकम्प र आगलागी केन्द्रित कृत्रिम घटना अभ्यास सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देहीको सैनामैना नगरपालिकामा नगरपालिका स्तरीय कृत्रिम विपद् अभ्यास कार्यक्रम बिहीबार सम्पन्न भएको छ।


नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सञ्चालन भइरहेको सुपर परियोजना – शहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजना अन्तर्गत आयोजना गरिएको उक्त अभ्यास मुर्गिया स्थित पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको हो।


कार्यक्रममा भूकम्प र आगलागी जस्ता सम्भावित विपद् अवस्थाको परिकल्पना गर्दै विद्यार्थी र नगर स्वयंसेवक ब्युरोको संयुक्त अभ्यास प्रस्तुत गरिएको थियो। अभ्यासमा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी, सुरक्षित स्थानमा सर्ने तरिका, घाइतेको उद्धार, प्राथमिक उपचार र सम्बन्धित निकायलाई सूचना दिने प्रक्रियाबारे व्यवहारिक नमुना प्रदर्शन गरिएको थियो।


सैनामैना नगरपालिकाको दमकल, एम्बुलेन्स र उद्धार टोली पनि सक्रिय रूपमा परिचालित थियो। आगलागी नियन्त्रण र घाइतेको उद्धार अभ्यासमार्फत विपद्का बेला नगरपालिकाको तयारी क्षमता र अन्तरनिकाय समन्वयको स्पष्ट झल्को देखाइएको थियो।


अभ्यासका मुख्य सहजीकर्ता डिल्लीराज जोशीले बताउनुभयो, “सैनामैना नगरपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको परीक्षण गर्न यो कृत्रिम विपद् अभ्यास आयोजना गरिएको हो।”


 नगर प्रमुख फणीन्द्र शर्माले अभ्यास पश्चात प्राप्त सुझावहरूलाई आगामी दिनमा योजना अद्यावधिक गर्दा समेटिने बताउनुभयो ।

यस्तै विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, नगर स्वयंसेवक र सरोकारवालाहरूले देखिएका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा अझ व्यवस्थित, जिम्मेवार र समन्वयात्मक ढंगले विपद् व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।


कार्यक्रममा नगर प्रमुख फणीन्द्र शर्मा, उपप्रमुख विना राना, वडा अध्यक्षसहितका जनप्रतिनिधि, रेडक्रस पदाधिकारी, नगरपालिकाका कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नगर स्वयंसेवक, विद्यार्थी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


साथै, सैनामैना नगर अस्पतालमा केही दिनअघि मात्र पूर्व सूचना प्रणालीको सूचना यन्त्र जडान गरिएको छ, जसले आपतकालीन अवस्थामा समयमै सूचना प्रवाह गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


नगरपालिकाले यस्ता अभ्यास र पूर्वाधारलाई निरन्तरता दिँदै विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।