विशेषगरी नेपालमा जाडो मौसममा हुस्सु देखिन्छ । अंग्रेजी पात्रो अनुसार जनवरी, फेब्रुअरी र मार्चमा जमिन नजिकैको हावा धेरै चिसो हुने र त्योभन्दा माथिको हावा तातो हुने गर्छ । सामान्यता हामी वायुमण्डलमा पृथ्वीको सतहभन्दा जति माथि जान्छौं, हुस्सु लागेको समयमा तापक्रम बढ्दै जान्छ ।
हुस्सु लागेको समयमा जमिनको तल्लो तहमा एक किलोमिटरसम्म तापक्रम घट्नुको सट्टा सतहबाट माथि जाने बेलामा तापक्रम केही बढ्छ । यो खालको सानो तहलाई ‘इन्भर्सन लियर’ भनिन्छ । ‘इन्भर्सन लियर’ भएको बेलामा हुस्सु लाग्ने गर्छ । जमिनबाट उत्पन्न हुने ‘जलवाष्प’ र धुवाँ धुलोका कारणले पनि बाक्लो हुस्सु लाग्छ ।
कुहिरो र हुस्सुबीचको फरक
कुहिरो र हुस्सु हेर्दा उस्तै देखिन्छ तर फरक हुन्छ । हुस्सु बिहानको समयमा मात्रै लाग्ने र दिउँसो बिस्तारै खुल्दै जान्छ । यदि हाम्रो खाली आँखाले हेर्दा एक किलोमिटरभन्दा कम दूरी देखिएको खण्डमा कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी चार–पाँच किलोमिटरसम्म देखिनेलाई हुस्सु भन्न सकिन्छ ।
कुहिरो अलि बाक्लो किसिमले लागेको हुन्छ । कुहिरो लागेको बेलामा ५० मिटर नजिक पनि हेर्न गाह्रो पर्छ । कुहिरो लागेकाे बेला जहाज चलाउन ‘भिजिबिलिटी’ कम हुन्छ भने बाटो राम्रोसँग नदेखिँदा गाडीहरु ठोक्किन सक्छन् । त्यसैले एक किलोमिटरभन्दा कम दूरीमा पनि देख्न सकिन्न भने कुहिरो भनिन्छ भने परसम्म देखिने अवस्थामा हुस्सु भनिन्छ ।
तराई र पहाडमा लाग्ने कुहिरोमा पनि फरक
तराईमा बिहानपख लाग्ने बाक्लो कुहिरो र पहाडमा लाग्ने कुहिरोमा फरक छ । कुहिरो हेर्दा उस्तै देखिए पनि काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख कुहिरो र हुस्सु लागेर बिस्तारै घाम लाग्दै जाँदा आकाश खुल्दै जान्छ । तराईमा बिहान लागेको कुहिरो र हुस्सु बेलुकासम्म पनि लागि रहन सक्छ । साथै दुई–तीन दिनसम्म कुहिरो र हुस्सु नहट्न सक्छ ।
बिहान लागेर दिउँसो हट्ने कुहिरोलाई ‘रेडियसन फग’ भनिन्छ भने लामो समयसम्म लागिरहने कुहिरोलाई ‘एडभेक्सन फग’ भनिन्छ । ‘एडभेक्सन फग’ मा तराईको एक ठाउँमा मात्रै नभएर पूरै क्षेत्रमा कुहिरो देखिन्छ । योबेला नेपालको तराईसहित भारतको बिहार र उत्तर प्रदेशमा बाक्लो कुहिरो लागेको हुन्छ । साथै तराई क्षेत्रमा लाग्ने हुस्सु र कुहिरो बिस्तारै हिंडेको जस्तो पनि देख्न सकिन्छ । बायुमण्डलमा धेरै माथिसम्म बाक्लो भएर बसेको हुँदा घामको प्रकाश जमिनमा आउन सक्दैन ।
शीत र शीतलहरबीचको भिन्नता
सामान्यतया रातभरिमा जमिन नजिकको हावा चिसिएपछि बिहानपख थोपा अर्थात् डीयूको रूपमा परिणत भएको अवस्थालाई शीत भनिन्छ । शीत बोटबिरुवाका पात र जमिनमा थोपाको रूपमा देख्न सकिन्छ । लामो समयसम्म बाक्लो कुहिरो लागेका बेलामा हल्का हावा चल्ने र आकाशबाट शीत झरेको अवस्थालाई शीतलहर भनिन्छ । विशेषगरी तराईमा दुई/तीन दिन बाक्लो कुहिरो लागिरहँदा र ‘भिजिबिलिटी’ कम भएको खण्डमा शीतलहर हुन्छ ।
शीतलहरका बेला अधिकतम र न्युनतम तापक्रम पनि ५ डिग्री सेल्सियसभन्दा कम हुन्छ । कुनै पनि ठाउँको तापक्रम एक्कासी ५ डिग्रीभन्दा कम र बाक्लो कुहिरो लागेको अवस्थामा पनि शीतलहर भनिन्छ । साथै चिसो मौसममा दुई/तीन दिनसम्म दिउँसोमा घाम नलागेको अवस्थामा शीतलहर हुन्छ । दिउँसो घाम लाग्ने र बिहानपख सानो–सानो थोपा देखिने अवस्थालाई शीत भन्न सकिन्छ । काठमाण्डौसहित पहाडी क्षेत्रमा शीत देखिन्छ भने तराई क्षेत्रमा शीतलहर हुने गरेको छ ।
तुषारो फरक देखिन्छ
रातभरी र बिहानसम्म एकदमै चिसो हुने र दिउँसो घाम लागेको अवस्थालाई तुषारो भनिन्छ । रातिको समयमा तापक्रम एकदम कम भएर जमिन नजिकैको हावा पनि चिसिएको खण्डमा तुषारो भन्न सकिन्छ । यो बेला जमिन चिसिएर भिजेको र सेतो हिउँ जस्तो देखिन्छ । बिहान घाम लाग्दै जाँदा आफैं हट्दै जान्छ ।
तुषारो लागेका बेला तापक्रम शून्य डिग्री सेल्सियस अथवा त्योभन्दा पनि कम हुन सक्छ । शीतलहर र कुहिरोमा शून्यभन्दा कम डिग्रीमा तापक्रम गएको हुँदैन । विशेषगरी तुषारो पहाडी क्षेत्रमा तथा हुस्सु र कुहिरो तराईमा लाग्ने गर्छ ।
काठमाण्डौको मौसम फेरियो
पहिले काठमाण्डौ उपत्यकामा जाडो मौसमका बेला दिउँसो हुस्सु र कुहिरो लाग्ने गर्थ्याे भने तराई क्षेत्रमा घाम लाग्ने गर्थ्याे । अहिले ठ्याक्कै उल्टो भएको छ । अहिले तराईमा लामो समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेको छ । हरेक चिसोयाममा एउटै खालको मौसम हुन्छ भन्ने छैन । विभिन्न कारणले गर्दा अहिले मौसममा परिवर्तन आएको छ । विशेषगरी तराईमा पुस १५ देखि माघ १५ गतेसम्म बढी हुस्सु र कुहिरो लाग्छ ।
काठमाण्डौमा बिहानपख केही हुस्सु र कुहिरो देखिए पनि दिउँसोपख हट्दै जान्छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा राति आकाश खुल्ला भएर बादल नभएको र हल्का हावा चलेको बेलामा तुषारो र कुहिरो लाग्न सक्छ । पहाडी क्षेत्रमा लामो समयसम्म कुहिरो लाग्ने गरेको छैन । खुल्ला ठाउँमा भन्दा जनघनत्व अर्थात् बढी मानिसको बसोबास हुने ठाउँमा हुस्सु कम लाग्छ । साथै तापक्रममा पनि ५ डिग्री सेल्सियससम्म फरक पर्न सक्छ ।