पाकिस्तानी क्रिकेटरमाथि लागूऔषध प्रयोग गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – पाकिस्तानका क्रिकेटर मोहम्मद नवाजमाथि आईसीसी टी–२० विश्वकप क्रिकेटको समयमा लागूऔषध प्रयोग गरेको आरोप लागेको छ ।

गएको मार्चमा सम्पन्न टी–२० विश्वकपका क्रममा गरेको परीक्षणमा ३२ वर्षीय क्रिकेटरको नतिजा पोजेटिभ आएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई यसबारे जानकारी गराएको हो ।

‘रिक्रिएशनल ड्रग’ (मनोरञ्जनका लागि नशालु पदार्थको प्रयोग) का सम्बन्धमा नवाजमाथि कानूनी प्रक्रिया शुरू भइसकेको पीसीबीका प्रवक्ता आमिर मिरले बताएका छन् । पीसीबीले आफ्नो अनुसन्धान प्रतिवेदन आजै आईसीसीलाई बुझाउने तयारी गरेको छ ।

नवाजले टी–२० विश्वकपमा पाकिस्तानका लागि सबै ७ खेल खेल्दै ७ विकेट लिनुका साथै १५ रन बनाएका थिए । प्रतियोगितामा पाकिस्तान ‘सुपर–एट’ चरणबाट बाहिरिएको थियो ।

यो विवादपछि मोहम्मद नवाजले इङ्ग्ल्यान्डमा हुने टी–२० ब्लास्ट लिग खेल्ने अवसर गुमाएका छन् । उनलाई इङ्ग्लिस काउन्टी क्लब ‘सर्रे’ ले यस सिजनका लागि सम्झौता गरेका थिए ।

नवाजले अहिले ‘पाकिस्तान सुपर लिग’ (पीएसएल) मा मुल्तान सुल्तान्सबाट खेलिरहेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।