काठमाण्डौ उपत्यकाको हावा अति अस्वस्थ अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । केही दिनदेखि गर्मी र वनमा डढेलोको सङ्ख्या बढेसँगै वायु प्रदूषण पनि बढेको हो ।

आज काठमाण्डौ उपत्यकाको हावा मानव स्वास्थ्यका लागि अति अस्वस्थ अवस्थामा पुगेको छ । हावाको गुणस्तर मापन सूचक ‘एक्यूआई’ २०० भन्दा माथि पुगेपछि मानव स्वास्थ्यका लागि अति अस्वस्थ हुनेमा आज काठमाण्डौको ‘एक्यूआई’ २३० भन्दा माथि छ ।

काठमाण्डौ अहिले वायु प्रदूषण धेरै भएका विश्वका शहरको सूचीको दोस्रो स्थानमा छ । काठमाण्डौसँगै पोखरा, लुम्बिनी, सुर्खेतलगायतका शहर र हिमाली क्षेत्र मुस्ताङमा समेत वायु प्रदूषण बढेको छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् ।

यस्तै जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आउँदो तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने सङ्केत देखिएको जानकारी दिनुभयो ।

विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई पर्छ । तर ‘एक्यूआई’ २०० भन्दा माथि पुगेपछि सबै वर्गकाे स्वास्थ्यमा जाेखिम पुग्ने जलवायु विज्ञ उज्ज्वल उपाध्याय बताउनुहुन्छ ।

उहाँका अनुसार सामान्य भाषामा भन्दा अहिले काठमाण्डौ उपत्यकामा दिनभर घरबाहिर बस्दा १२ वटा चुरोट पिएको बराबर प्रदूषित हावा फोक्सोमा पुग्छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धूलो–धूवाँबाट जोगिन उहाँको सुझाव छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।